मोरङमा बढ्यो कोरोना, धेरै सङ्क्रमित कारागारका कैदीबन्दी

प्रदेश १ को मोरङमा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएको छ । मोरङमा कोभिड सङ्क्रमणको चुनौती देखिएको भन्दै स्थानीय प्रशासनले अनिवार्य मास्क प्रयोग गर्न आव्हान गरेको छ ।

जिल्लास्थित कोभिड व्यवस्थापन समितिको गत शुक्रबार बसेको बैठकले सतर्कता अपनाउन आग्रह गरेको हो । विराटनगर महानगरपालिकाले पनि सार्वजनिक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमबाट बच्न अति आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

बिज्ञापन

७४ जनामा कोरोना पुष्टि

प्रदेश १ स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार आज मात्रै ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा विराटनगरका मात्रै ४४ जना छन् । आज २६१ नमुना परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये अधिकांश मोरङ कारागारका कैदीबन्दी हुन् ।

त्यसैगरी बुढीगंगा गाउँपालिकामा ४ जना, उर्लाबारीमा एकजनालाई सङ्क्रमण देखिएको छ । झापाको भद्रपुर, बिर्तामोड, मेचीनगर, बुद्ध शान्तिमा १–१ जनालाई कोरोना देखिएको छ ।

गत असार २६ गतेयता लगातार सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समय प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ पुगेको छ । हालसम्म प्रदेश १ मा एक लाख २१ हजार ३८७ जनाका सङ्क्रमण पुष्टि भइसकेको तथ्याङ्क छ । त्यसमध्ये एक लाख १८ हजार ९९१ सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा ७८१ जना महिला र एक हजार ४८० पुरुषको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ ।