
विराटनगर । विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई पोशाकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

जनप्रतिनिधिहरु सुबिधाभोगी भएको गुनासो आइरहेका बेला महानगरको चौंथो नगरसभाले सबै जनप्रतिनिधिका लागि प्रतिव्यक्ति दश हजार रुपैयाँ पोशाक खर्च दिने निर्णय गरेको हो । यस्तै, महानगरले जनप्रतिनिधिको मोवाइल खर्चका लागि भनेर मासिक १५०० रुपैयाँ समेत दिने निर्णय गरेको छ ।



१० वटा वडा रहेको विराटनगर महानगरपालिकामा १०० जनप्रतिनिधिहरु छन् । १०० जनाको पोशाकका लागि मात्र १० लाख खर्च हुनेछ ।

भर्खरै सम्पन्न नगरसभाबाट प्रत्येक सदस्यलाई १० हजार रुपैयाँका दरले पोशाक भत्ता दिने निर्णय पारित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
अन्य स्थानीय तहले पनि बजेट विनियोजन गरेका कारण विराटनगरले पनि बिनियोजन गरेको उनको भनाइ छ । महानगरका मेयर र उपमेयरले भने पोशाकका लागि छुट्याएको रकम नलिने मेयर पराजुलीले बताए ।