राष्ट्रिय सभा बैठकमा बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाउन माग

काठमाडौँ, जेठ ९ गते । बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने राष्ट्रिय सभाका सदस्यहरूले माग गर्नुभएको छ । सदस्यहरूले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद डा. बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी नयाँ कडा कानुन ल्याउन माग गर्नुभयो ।नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

बिज्ञापन

नेपाली कांग्रेसका गोपालकुमार बस्नेतले राज्यले स्वच्छ र पारदर्शी कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो ।कांग्रेसका सदस्य नारायणदत्त मिश्रले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले नीति तथा कार्यक्रम र बजेटमा तल्ला तहका जनताको समस्यालाई सम्बोधन गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीले प्राथमिकता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

अर्का एकीकृत समाजवादीका सांसद् जयन्तीदेवी राईले दिन प्रतिदिन महिला हिंसा तथा बलात्कारका घटना बढ्दै गएको भन्दै महिलाको सुरक्षाको माग गर्नुभयो । बलात्कारीलाई कानुनी कठघरामा ल्याउन कानुन परिमार्जन गर्नुपर्ने उहाँको माग थियो ।नेकपा (माओवादी केन्द्र) का सांसद हरिराम चौधरीले विभिन्न आन्दोलनका क्रममा थारू समुदायमाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने बताउँदै राज्यले थारु समुदायमाथि विभेद गरेको आरोप लगाउनुभयो ।

यसैगरी, माओवादी केन्द्रका अर्का सांसद मायाप्रसाद शर्माले अहिले आम जनता महँगीको मारमा परेको जनाउँदै निर्वाचनसमेत महँगो बन्दै गएको बताउनुभयो । उहाँले विगतमा भएका बलात्कारका घटनाको छानबिन गर्न कानुनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्ने बताउनुभयो । माओवादी केन्द्रका जगप्रसाद शर्माले मूल्यवृद्धि, महँगी र भ्रष्टाचार अन्त्यको माग गर्नुभयो ।

नेकपा (एमाले) का सांसद सुमित्रा विसीले स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारले महिलालाई उम्मेवारका लागि स्थान नदिएको गुनासो गर्नुभयो ।नेकपा (एमाले) का भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महङ्गी बेहोर्न बाध्य पारेको आरोप लगाउँदै छिमेकी मुलुक भारतमा समेत सरकारले जनतालाई सहुलियत दिइरहेको बताउनुभयो ।

नेकपा (एमाले) का भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महङ्गी बेहोर्न बाध्य पारेको आरोप लगाउँदै छिमेकी मुलुक भारतमा समेत सरकारले जनतालाई सहुलियत दिइरहेको बताउनुभयो ।एमालेका भगवती न्यौपानेले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्याद संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।यसैगरी, जनता समाजवादी पार्टी नेपालका प्रमिला कुमारीले बलात्कारीलाई आजीवन सजाय हुनुपर्नेमा जोड दिनुभयो ।यसैगरी, राष्ट्रियसभाका स्वतन्त्र सदस्य डा. खिमलाल देवकोटाले बलात्कार र जघन्य अपराधमा हदम्याद हटाउनुपर्नेमा जोड दिनुभयो ।