टर्कीले नेटोसमक्ष राख्यो यस्तो माग

टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोको सदस्य बनाउनका लागि आफ्ना केही शर्तहरू पूरा गर्नुपर्ने माग राखेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ ।

तीनजना वरिष्ठ टर्किश अधिकारीहरूसँग कुरा गरेर ब्लूमबर्गले दिएको खबरअनुसार, रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किनेकाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने टर्कीको माग छ । त्यस्तै टर्कीले एफ–३५ लडाकू विमान कार्यक्रममा पनि आफूलाई जोड्नुपर्ने माग राखेको छ ।फिनल्यान्ड र स्विडनले नेटोमा जोडिने उद्देश्यका विषयमा आइतवार आधिकारिक घोषणा गरेका थिए । रुसले युक्रेनमाथि चलाएको कारवाहीलाई विचार गर्दै ती दुई देश आफ्नो सुरक्षाका लागि नेटोमा जोडिन खोजेका हुन् ।

बिज्ञापन

तर उनीहरू नेटोको सदस्य बन्नका लागि बहालवाला सबै ३० सदस्यको सर्वसम्मति आवश्यक हुन्छ । स्विडन र फिनल्यान्डले कुर्दिश समूहहरूलाई आश्रय दिइरहेकोमा आपत्ति जनाउँदै टर्कीले ती दुई देशको चाहनामा भाँजो हालेको हो । कुर्दिस्तान वर्कर्स पार्टी र रिभोल्युसनरी पिपुल्स लिबरेसन फ्रन्टलाई टर्कीले आतंकवादी संगठन मान्ने गरेको छ ।स्विडन र फिनल्यान्डले आफूमाथि लगाएको व्यापार प्रतिबन्धलाई हटाउनुपर्ने शर्त पनि टर्कीले राखेको त्यहाँका परराष्ट्रमन्त्री मेव्लुत काभुसोग्लुले पुष्टि गरेका छन् ।यसबाहेक पनि टर्कीका अन्य शर्तहरू रहेको ब्लूमबर्ग लेख्छ ।