
बुटवल । रुपन्देहीमा रहेको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा भएको झगडामा घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो झडप हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।प्रहरीले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए ।

सुकुम्बासीले औद्योगिक क्षेत्रको जग्गा हडपेर टहरा बनाएपछि प्रशासनले हाटउन थालेको थियो । अतिक्रमणकारी आक्रमणमा उत्रिएपछि दोहोरो झडप भएको हो ।



प्रहरीले करिव ३ हजार ५ सय जनाको भीड तिरबितर गर्न हवाइ फायर गरेको थियो । सोही क्रममा तीन जनाको मृत्यु् भएको प्रहरीले जनाएको छ । झडपमा कम्तिमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते अन्य सर्वसाधारण हुन् । समाचार संकलनका लागि पुगेका एक पत्रकारको टाउकोमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते तीन जनाको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्यको उपचार लुम्बिनी प्रदेशमा जारी छ ।

बुटवलको वडा नम्बर १७ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा रहेको रानीगञ्जमा सुकुम्बासीको नाममा घरटहरा बनेका थिए । रुपन्देही प्रशासनले सो स्थानमा जग्गा अतिक्रमण हुन नदिन निषेधाज्ञा समेत लगाएको थियो । तर अतिक्रमण २०० विगाहाभन्दा धेरै हुँदै गएपछि प्रशासनले घरटहरा हटाउन थालेको हो । सोही क्रममा अतिक्रमणकारीले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेका थिए ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा उनीमाथि समेत आक्रमण भएको थियो । तत्कालीन समयमा राजनीतिक रुप दिंदै कांग्रेस र एमालेका माधव नेपाल पक्षीय नेताहरुले शिलान्यास रोक्न अल्टिमेटम दिएका थिए । शिलान्यास नरोकिएपछि भौतिक आक्रमण नै भएको थियो ।
औद्योगिक क्षेत्रलाई राजनीतिक एजेण्डा बनाइएपछि अहिलेको घटना सिर्जना भएको स्थानीयले बताएका छन् । मोतिपुर क्षेत्रमा स्थायी घर भएका केही नेताहरुले घरटहरा बनाउन प्रेरित गरेका छन् । जग्गा सुकुम्बासीलाई बाढिने हल्ला चलेपछि बाग्लुङबाट ३ सय जनाको टोली आएर टहरा बनाएको छ । रातीमा बुटवलका होटलमा बस्ने उनीहरु उज्यालो भएपछि साँझसम्म टहरा कुर्न पुग्ने गरेका छन् । करिव २५ सय जनाबाट एक सयका दरले रकम समेत संकलन भएको छ ।
मोतिपुरमा ८ सय २२ विगाहा जमिनमा औद्योगिक क्षेत्र बनाउन लागिएको हो । औद्योगिक क्षेत्र बनाउने सुरुआती चरणमा स्थानीयले विरोध गरेका थिए । सो जग्गा औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा रहेको छ ।
प्रशासन र सर्वसाधारणबीचको झडपले तनावग्रस्त बनेको मोतिपुर क्षेत्रमा प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तनावको अवस्था नियन्त्रणमा आएको र बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएको बताए ।