विना शर्त पक्राउ गरिएका अभियन्ताहरु रिहाई गर्नुपर्ने ‘नेपालका लागि नेपाली अभियान’को माग

काठमाडौं। ‘नेपालका लागि नेपाली अभियान’ले आफ्ना अभियन्ताहरु ज्ञानेन्द्र बहादुर शाही र भीम बहादुर शाहीलगायतलाई सुर्खेतबाट पक्राउ गरिएको भन्दै विरोध जनाएको छ । पक्राउ परेका अभियन्ताहरुलाई विना शर्त तुरुन्त रिहाई गर्नुपर्ने अभियानको माग छ ।

https://giphy.com/gifs/everest-4bcfhayfujLdS

बिज्ञापन

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले यस्तो माग गरेको हो । अभियानका अभियन्ता एवम् बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अभियन्ताहरुलाई पक्राउ गरिएकोमा आक्रोश पौख्दै यो नागरिकहरुमाथिको आक्रमण भएको आरोप लगाउनुभयो ।

डा. सुरेन्द्र भण्डारी

उहाँले ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक प्रहार र झुठा मुद्दाको भत्र्सनासमेत गर्नुभएको छ । त्यस्तै, उहाँले पक्राउ गरिएका अभियन्ताहरुलाई तत्काल रिहाई गरी उपचार गर्नुपर्ने माग राख्नुभयो । भण्डारीले भन्नुभयो, ‘उहाँहरुको स्वास्थ्य अवस्था गम्भीर छ, उहाँहरुलाई विना शर्त रिहाई गरि उपचार गर्नुपर्छ । अन्यथा, केही भयो भने यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’

कार्यक्रममा अर्का अभियन्ता एवम् बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारले पछिल्लो समय आफ्नो विवेकत गुमाएर कम्युनिष्टको असली रुप देखाएको टिप्पणी गर्नुभयो । सरकार शान्तिपूर्ण सभा तथा कार्यक्रमहरु विथोल्न उद्दत रहेको पनि उहाँको आरोप छ ।

बालकृष्ण न्यौपाने

न्यौपानेले सरकारले मिडिया काउन्सिल विद्येयकको नाममा पत्रकारहरुलाई तर्साउने र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम गरेकोमा आपत्ति जनाउनुभयो ।

पक्राउ परेका आफ्ना अभियन्ताहरुलाई सरकारले विना शर्त रिहाई गर्नुपर्नेपनि उहाँको माग छ । संविधानले नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेकोले बोलेकै भरमा नागरिकमाथि यसरी ज्यादती गर्नु दुःखदायी भएको पनि उहाँले टिप्पणी गर्नुभयो । उहाँले नेपाल भ्रष्टाचारमा कारबाही नहुने मुलुकको रुपमा विश्वसामू परिचित भैसकेको पनि गम्भीर आरोप लगाउनुभयो ।

नेपालका प्रमुख सबै दलहरु भ्रष्टाचारमा लिप्त भैसकेको पनि उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘कांग्रेसपनि यसबाट अछुतो छैन । उसको पनि भ्रष्टाचारमा संलग्नता छ । त्यही भएर भ्रष्टाचारको मुद्दामा केही बोल्दैन् ।’

१८ गते माइतीघर मण्डलमा विरोध प्रर्दशन गर्ने
त्यस्तै, अभियानले धुर्मुश–सुन्तली फाउण्डेशनमाथि भएको ज्यादतीको विरोध, कुलमान घिसिङविरुद्धका षड्यन्त्रको विरोध, पशुपतिनाथ क्षेत्रका जग्गामा चर्च स्थापना गर्न दिने कार्यको विरोध, देशभरिका गुठी मास्ने सरकारी प्रपञ्चको विरोध, भ्रष्टाचार, लोकतन्त्र र बेथितिको विरुद्धमा नागरिक आवाज बुलन्द गर्न र राष्ट्रियताको संरक्षणको लागि नागरिक आवाज बुलन्द गर्न यही जेठ १८ गते शनिबार काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ः३० बजे विरोध सभा राखिएको पनि जानकारी दिएको छ ।