
५ चैत, सिन्धुली । राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् । यसरी कार्यक्रम गरिरहँदा विशेषगरी माओवादी केन्द्र र राप्रपाको हैसियतमा फेरबदल आएको देखिन थालेको छ । माओवादी केन्द्रको कार्यक्रममा भन्दा राप्रपाका कार्यक्रममा नागरिकको साथ बढिरहेको देखिएको छ । दुवै दलले दैनिकजसो कार्यक्रम गरिरहेका छन् । तर, माओवादीको कार्यक्रममा भन्दा राप्रपाका कार्यक्रममा बढी जनताको सहभागिता देखिएको हो ।

साविक नेकपा र एमाले विभाजनले माओवादीलाई नकारात्मक प्रभाव पर्दा नयाँ नेतृत्व पाएको राप्रपाप्रति जनताको विश्वास बढेको देखिन्छ । गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढेको देखिन्छ ।



यता साविक नेकपा र एमाले विभाजनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका रहेको आरोप खेपेको माओवादीले जनमत गुमाउँदै गएको शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमले एकहदसम्म पुष्टि गर्छ ।

शनिबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा माओवादी केन्द्र र राप्रपाले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको थियो । तर, माओवादीलाई भन्दा राप्रपालाई सिन्धुलीवासीले साथ दिएको देखियो । सिन्धुलीमा हरिबोल गजुरेलजस्ता नेता पाएको माओवादीले अध्यक्ष प्रचण्डको प्रमुख उपस्थितिमा सदरमुकाममा आयोजना गरेको कार्यक्रम एउटा हलमा सीमित हुनुले उसको हैसियत प्रष्ट भएको हो ।
सोही समयमा राप्रपाले भने सिन्धुलीमाडीकै खुलामञ्चमा कार्यक्रम गर्यो । दुई महामन्त्री भुवन पाठक र राजेन्द्र गुरुङलाई साथ लिएर सिन्धुली पुगेका राप्रपा अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा सम्बोधन भएको सिन्धुलीमाढीको खुलामञ्चमा आयोजित आमसभामा जनताको उत्साहजनक सहभागिता रहँदा एउटा हलमा आयोजित प्रचण्ड सहभागी कार्यक्रम सुनसान झैँ देखिन्थ्यो ।
माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित भवन उदघाटन गर्न प्रचण्ड सिन्धुलीमाढी पुगेका हुन् । सिन्धुली अघिल्लो निर्वाचनमा राप्रपाले न्युन मत प्राप्त गरेको जिल्लामा पर्दछ । परम्परागत र सम्भ्रान्त नेतृत्वले लामो समय निरन्तरता पाएको राप्रपामा लिङ्देनको उदय भएपछि राप्रपा तिर जनताको आकर्षण बढिरहेको देखिन्छ । लिङ्देन जहाँ पुग्छन् त्यहाँ राप्रपाका नेता कार्यकर्ता मात्रै होइन आम जनताको सहभागीता उल्लेखनीय रुपमा भइरहेको छ ।
पछिल्लो एक महिनामा लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ, उनले फागुनबाट शुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन् । राप्रपा र लिङ्देनको क्रेज बढेसंगै नेपाली राजनीतिको आगामी समीकरण र शक्ति सन्तुलनमा फेरबदल आउन सक्ने कतिपयको विश्लेषण रहेको छ ।