
खोटाङ : खोटेहाङ गाउँपालिकाले बाँझो जमिनमा फलफूल बगैँचा खेती प्रवर्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिनुका साथै बसाइँसराइका कारण बाँझिएको खेतीयोग्य जमिन पुनः उपयोगमा ल्याएर गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गाउँपालिकाले व्यावसायिक फलफूल बगैँचाका लागि अनुदान दिने भएको हो ।

बाँझिदै गएको जग्गालाई पुनः प्रयोगमा ल्याउन आगामी फागुन ३ गतेभित्र मागमा आधारित अनुदान कार्यक्रमको प्रस्ताव पेश गर्न आह्वान गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । “वैदेशिक रोजगारी, शहरबजारमा बसाइँ सर्नेलगायतका कारण खेतीयोग्य जमिन बाँझिदै गएका छन्”, उनले भने, “बाँझो जमिनलाई उपयोगमा ल्याउँदै बसाइँ जाने घरपरिवारलाई निरुत्साहित गर्ने उद्देश्यले बाँझो जमिनमा फलफूल बगैँचा खेती प्रवद्र्धन कार्यक्रम अघि सारिएको हो ।”



आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाले बाँझो जमिनमा कागती, सुन्तला, एभोकार्डो, आँप, लिची, केरा, दाँतेओखर, रुख कटहर, ड्रागन फ्रुट, स्ट्राबेरी र जापानिज नास्पाती खेती गर्न कृषक, कृषक समूह, कृषि सहकारी र फार्मलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । बाँझो जमिनमा व्यावसायिक फलफूल बगैँचा अनुदान सञ्चालन कार्यविधि–२०७७ स्वीकृत गरेरै गाउँपालिकाले जमिनलाई बाँझिनबाट जोगाउने गरी फलफूल बगैँचा अनुदान दिने व्यवस्था गरेको छ ।

अनुदानका लागि नागरिकताको प्रतिलिपि, व्यवसाय दर्ता र नवीकरणको प्रमाणपत्र प्रतिलिपि, पान नम्बरको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि, अनुभव वा तालिम लिएको भए सोको प्रमाणपत्रको प्रतिलिपि, व्यावसायिक कार्ययोजना, सम्बन्धित वडाको सिफारिससहित प्रस्ताव पेश गर्न सकिने जनाइएको छ । प्राप्त भएको प्रस्तावमध्येबाट किसान वा कृषक समूह छनोट गरेर अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।
नौ वडा रहेको उक्त गाउँपालिकाले कृषि उपज उत्पादनलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाउँदै आएको छ । भौतिक पूर्वाधार निर्माणमा जिल्लाकै सबैभन्दा अगाडि देखिएको यस गाउँपालिकाले पछिल्लो समय उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिएर कृषिमा लगानी शुरु गरेको हो ।