
काठमाडौं । नेपालमा हालसम्म ९३ प्रतिशत नेपालीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कुल जनसंख्यामध्ये १ करोड ८४ लाख ९८ हजार एक सय ६० जनालाई कोभिडविरुद्धको खोपको कम्तिमा एक मात्रा दिइएको हो।

यस्तै, पूर्ण मात्रा खोप लगाउनेको जनसंख्या भने १ करोड ६१ लख ८४ हजार ८ सय ५८ रहेको छ। यो कुल लक्षित जनसंख्याको ८१।२ प्रतिशत हो। साथै, १२–१७ वर्ष उमेर समूहका ३१ लख १८ हजार ७ सय पचासी (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन्। १८ वर्ष मुनि पूर्ण मात्रा खोप लगाउनेको संख्या २३ लाख ११ हजार ९ सय ९८ (६७ प्रतिशत) रहेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कुल ३ करोड ९२ लाख २३ हजार ९ सय ४१ मात्रा खोप प्रदान गरिएको छ। जसमध्ये १ करोड ८६ लाख ९५ हजार ८ सय २६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५ सय ९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५ सय २० मात्रा बुस्टर डोज प्रदान गरिएको हो।

सरकारले भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जान्सेन खोप प्रदान गर्दै आएको छ। केही सहयोग त केही खरिदमार्फत सरकारले कुल ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप प्राप्त गरेको थियो।
नेपालमा अहिले ३ हजार ९ सय ९६ सक्रिय कोभिड संक्रमित छन्। कोभिड संक्रमण सुरु भएदेखि नेपालमा गरिएका कुल परीक्षणमा ११ लाख १८ हजार एक सय ८० जनालाई कोभिड पोजिटिभ देखिएको छ, जसमध्ये ९ लाख ६२ हजार एक सय ७३ जनाले कोभिडलाई पराजित गर्दा ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ।
नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब केबल ७ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ। १८ वर्ष मुनिको उमेर समूहमा पनि केबल ९ प्रतिशत जनसंख्या मात्र बाँकी छन्