
काठमाडौं । आज प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

आजको बैठक विशेषगरी संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल हुने तामाङले जानकारी दिए । एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेको उनको भनाइ छ ।



हिजो (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरित केही सांसदले विश्वासको मत दिएको विषयमा पनि आजको बैठकमा समीक्षा हुने उनले बताए । हिजो बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गर्नेहरु एमालेमा नरहने निर्णय गरेको थियो ।

तर सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन हुँदा ह्वीप नलाग्ने र पार्टी ह्वीप नजान्नेलाई कारबाही हुन नसक्ने फैसला सुनाइएकाले अरु कारण देखाएर उनीहरुलाई पार्टीबाट निष्काशन गर्ने एमालेको तयारी भएको बुझिएको छ ।