निर्वाचन अभियानबाट राप्रपा उत्साहित !

काठमाडाैं ।
स्थानीय तह निर्वाचन हुन ५७ दिन बाँकी छँदा संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा उभिँदै आएको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीमा जनलहर आएको दाबी गरेको छ ।

देश संघीयतामा गएपछि पहिलो पटक २०७४ मा भएको तीन तहको निर्वाचनमा लज्जास्पद हार बेहोरेको पार्टीले अभूतपूर्व जनलहर आएकाले निर्वाचनबाट पार्टीको ‘पोजिसन’ सुध्रिने जनाएको छ ।

बिज्ञापन

पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले देशव्यापी जनलहर आउँदा उत्साहित भएको बताए । ‘पार्टीमा आएको जनलहरले हाम्रो स्थिति सुध्रिने देखेका छौँ ।

सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशमा पार्टीको स्थिति बलियो हुँदै गयो’, उनले द नेपालटपसँग भने, ‘हामी पहिलेभन्दा धेरै ठाउँमा निर्वाचन जित्छौँ ।’

राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा ३० वर्ष राजनीतिक संघर्ष गरेका नेता कमल थापा अलग हुँदाको परिस्थितिमा प्रवक्ता लावतीको यो अभिव्यक्ति आएको हो । थापा गएको माघमा राप्रपाबाट अलग भएको थिए ।