आगलागीको कहालीलाग्दो दृश्य ; मित्रपार्कमा १० लाख र इलाममा ८० लाखको क्षति

काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित गौरीशङ्कर दासको टहरामा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माइला खाजा पसल र चाबहिल बस्ने दोलखा घर भएका श्याम बस्नेतको दोलखा खाजा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीमा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

उता इलामको सूर्योदय नगरपालिका-१ माने बस्ने कुमार तामाङको घरमा करेन्ट सर्ट भई मंगलबार साँझ आगलागी हुँदा नजिकै जोडिएको निमा तामाङको घरमा समेत फैलिएर दुवैजनाको गरी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा कहालीलाग्दो आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।