
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको पछि नेपाल आयल निगमले फेरि मूल्य वृद्धिको तयारी गरेको छ ।
नेपाल आयल निगमकाअनुसार भारतबाट मंगलबार पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची तोकिएर आएको छ ।

भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ ।



यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको छ ।
प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुनेछ ।

यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने छ । मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।