जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन आजदेखि सञ्चालनमा

जनकपुरधाम : जनकपुरधाम विमानस्थलको नव निर्मित नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर मंगलबारदेखि सञ्चालनमा आएको छ । ८ वर्ष पश्चात नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज उद्घाटन गरेका हुन् ।

कुल ४५ करोडको लागतमा नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएको हो । २०६९ साल कात्तिक महिनादेखि शुरू गरिएको टर्मिनल भवनको निर्माण कार्य झण्डै ८ वर्ष पश्चात सम्पन्न भएको छ ।

बिज्ञापन

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुरधाम विमानस्थलमा रहेको ५ दशक पुरानो टर्मिनल भवन विस्थापित हुने भएको छ । जनकपुर विमानस्थलले १८ जना यात्रु बोक्ने जहाजका लागि विसं २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट सेवा दिइँदै आएको थियो ।

No description available.
२०६९ साल कात्तिक महिनामा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणका लागि पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं २०६९ असोज १५ मा सम्झौता भएको थियो ।

प्राविधिक समस्या, रकम अभाव लगायतका कारण टर्मिनल भवन निर्माण कार्य पटक–पटक लम्बिदै आएको थियो ।

No description available.
अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यसअघि यात्रुहरूका चापका कारण भीडभाड हुने समस्याको अन्त्य हुने जनकपुर विमानस्थलका वरिष्ठ अधिकृत विकास कुमार झाले बताए । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीन वटा निजि विमान कम्पनीले सेवा दिदै आएको छ । बुद्ध एयरले दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौं उडान गर्दै आइरहेको बरिष्ठ अधिकृत झाले जानकारी दिए । बुद्ध एयरले सोमबारदेखि नै नयाँ टर्मिनल भवनबाट सेवा दिँदै आएपनि आजबाट यति एयर लाइन्स र श्री एयरलाइन्सले नयाँ टर्मिनल भवनबाट सेवा दिन शुरु गरेको झाले बताए ।

अहिले जनकपुरबाट दैनिक ५ वटा उडान काठमाडौंका लागि गर्दै आएको छ ।

नया टर्मिनल भवन सञ्चालनमा आएपछि धावनमार्ग विस्तार गर्ने लक्ष्य रहेको जनकपुरधाम विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए । उनका अनुसार अहिले रहेको १३ सय मिटरको धावनमार्गलाइ १५ सय मिटर पुर्याइने छ ।

आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जीप पार्क गर्न सक्ने क्षमताको पार्किङ स्थल बनाइएको हो । त्यस्तै टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको जनकपुरधाम विमानस्थलका प्रमुख गौतमले बताए ।