बैतडीमा टिपर दुर्घटनामा परि ४ जनाको मृत्यु

धनगढी । बैतडीमा विद्यार्थी बोकेको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनास्थलमै ३ जना र उपचारका लागि डडेल्धुरा अस्पताल लैजादै गरेका बेला एक जनाको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पाटन नगरपालिका–३ हिरापुरस्थित भित्रि सडक खण्डमा सोमबार अपराह्न टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परि पाटन नपाका ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानी विष्ट र १७ वर्षीय ललिता अवस्थीको घटनास्थलमै मृत्यु भएको हो ।

बिज्ञापन

त्यस्तै गम्भीर घाइते पाटन नगरपालिका ३ का १२ वर्षका राजेश प्रसाद पन्तको डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते पाटन नपा ३ का २० वर्षका सन्दीप विष्ट (गम्भीर), सोही ठाउँका १२ वर्षका सुनील भट्ट (मध्यम घाइते), १२ वर्षका अमित विष्ट र सुदीप पन्त सामान्य घाइते प्रहरीले जनाएको छ ।

घाइतेलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ । प्रहरी प्रमुख डीएसपी दर्शन खड्काले पाटन नगरपालिका–३, डबरा भन्ने स्थानमा बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको बताए । गाउँको बनबाट काठ बोक्नका लागि जान लागेको टिप्परमा स्थानीय सिगास माविका विद्यार्थी र बाटोका केही पैदल यात्री चढेका थिए ।

दसरथ चन्द राजमार्गको खोडपे बजारबाट ८ किलोमिटर पाटनतर्फ दर्घटना भएको हो । यो डोजरले गाउँ जान काटेको, कच्ची सडक हो । टिपरमा करिब २५ जना विद्यार्थी चढेर घर फर्किँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।प्रहरीले मोडमा कटिङ नपुगेपछि ब्याक गरेको टिपर दुर्घटना भएको जनाएको छ । चालक भने फरार छन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटन र खोडपेको प्रहरी टोली परिचालन गरि उद्धार गरिएको थियो ।