प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ । देउवालाई भेट्न ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जान लागेका हुन् ।

पाँच दलीय गठबन्धन भित्रका दलहरूबीच एमसीसीको विषयलाई लिएर असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो।

बिज्ञापन

देउवा र ओलीबीच आज भेटवार्ता हुन लागेको ओलीका सचिवालय सदस्य रामशरण बजगाईँले जानकारी दिए ।

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार जान लागेका हुन् । गएको पुस २४ गते देउवा ओली भेट्न बालकोट पुगेका थिए । त्यसयता आज भेट हुन लागेको हो । 

लामो समयदेखि अवरुद्ध संसद खुलाउने विषयमा दुई नेताबीच कुरा हुने बताइएको छ। त्यसैगरी स्थानीय तहको निर्वाचन मितिमा पनि कुरा हुने बताइएको छ। अमेरिकी परियोजना एमसीसीबारे दुई दलका शीर्ष नेतृत्वबीच छलफल हुने बताइएको छ।