
विराटनगर\ राजी मसला उद्योगका सञ्चालक सुमन प्रसाई नेतृत्वका युवाहरुले विराटनगरस्थित एक सामुदायिक विद्यालयका छात्र, छात्राहरुलाई खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् ।
युवाहरुले मंगलबार विराटनगर– ८ खोक्साहास्थित जनता आधारभुत विद्यालयका ३ सय ६ जना छात्र, छात्राहरुलाई ती सामाग्रीहरु वितरण गरेका हुन । उनीहरुले कपी, पेन्सिल, खेलकुदका सामाग्री तथा बस्ने म्याट लगायतका सामाग्रीहरु वितरण गरेका हुन ।
विकास र प्रगतिको हिसाबले पछि परेको सो विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ युवाहरुको समुहले मंगलबार आवश्यक शैक्षिक तथा खेलकुदका सामाग्रीहरु वितरण गरेको जनाएका छन ।

जीर्ण अवस्थामा रहेको सो विद्यालयको पठनपाठन प्रणालीलाई परिष्कृत गर्न तथा विद्यालयमा पठनपाठनकोे वातावरण सिर्जना गर्ने लक्ष्यका साथ ती सामाग्रीहरु वितरण गरिएको युवा अभियन्ता सुमन प्रसाईले बताउनुभयो ।
वि.सं. २००४ सालमा स्थापना भएको सो विद्यालयमा हाल बालकक्षा देखि कक्षा ८ सम्म पठनपाठन हुने गरेको छ । वडा नं. ८ को भेडियारी, दमादिघी, लालघाट, मटेरवा, खोक्साहा र डंग्राहा टोलका अधिकांश गरिब तथा विपन्न वर्गका बालबालिकाहरु पठनपाठनका लागी यहाँ आउने गरेका छन । तर उचित व्यवस्थापनको अभावमा पछिल्लो समय विद्यार्थीहरुको संख्या घटदै गएको विद्यालयका प्रधानाध्यापक राज कुमार सरवरियाले बताउनुभयो ।



कुल १ कठ्ठा ५ धुरमा रहेको सो विद्यालयका अधिकांश छात्रा, छात्राहरु कक्षा ९ र १० पढ्नका लागी अन्यत्रै जाने गरेका छन । विद्यालयमा आधारभुत तहसम्मको पठनपाठन मात्रै हुने गरेको कारणले विद्यालयका अधिकांश छात्र, छात्राहरुको रोजाई अन्य विद्यालयनै हुने गरेको छ ।
विद्यालयमा कक्षा १० सम्मको पठनपाठनको व्यवस्था मिलाउन थप जग्गा र भौतिक संरचना आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्भु कुमार यादवको भनाई छ । हाल यस विद्यालयमा आवश्यक भौतिक संरचनाका साथै शिक्षकको पर्याप्त दरबन्दीको पनि अभाव रहेको छ । अहिले यस विद्यालयमा भने २ शिक्षक र ५ शिक्षिका गरि जम्मा ७ जना शिक्षक,शिक्षिकाहरुको दरबन्दी रहेको छ ।
