
काठमाडौँ : पछिल्लो समय काठमाडौँ उपत्यका लगाएत देशैभरी कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । दैनिक भेटिने संक्रमितमा आधा संक्रमित काठमाडौँ उपत्यकाका मात्रै रहने गरेका छन् । काठमाडौँ उपत्यकामा दैनिक संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेका छन् ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कोरोना संक्रमण बढ्दै गएपछि मन्दिर दर्शन र पूजाआजामा आजदेखि अस्थायी रोक लगाइएको बताएका छन् । यो रोक माघ मसान्तसम्म लागू हुनेछ । यस्तै यसअघि सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध माघ मसान्तसम्म जारी रहनेछ ।



यस्तै आज रातिदेखि लागू हुने गरी उपत्यकामा चल्ने सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने आदेश जारी गरिएको छ । साथै सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ भने चालक तथा सह-चालकले मास्कसँगै फेस सिल्ड पनि लगाउनु पर्नेछ । उपत्यकामा सञ्चालन गरिने सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित पार्न प्रशासनको आदेश छ ।

सवारी साधनको ढोकामा र भित्र यात्रुका लागि सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ । कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सह-चालकले मास्क उपलब्ध गराउनुपर्ने प्रशासनको निर्णयमा उल्लेख गरिएको छ । त्यसको शुल्क भने पाँच रुपैयाँभन्दा बढी लिन पाइने छैन । मास्क लगाउन अटेर गर्ने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिन प्रशासनले आग्रह गरेको छ ।