झापाको मेचीनगरमा ग्यास सिलिन्डर विस्फोट हुदा १ जनाको मृत्यु , १२ जना घाइते

झापाको मेचीनगरमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी लगेकोमा उक्त मेडिकलमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति साढे ९ बजेको समयमा मेचीनगर नपा वडा नं. -७ पिपल चोक बस्ने केशव पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कन पुग्दा मानिसहरू घाइते हुने पुगेका थिए ।

बिज्ञापन

घाइते हुनेहरूमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी, दीपेन्द्र कार्की, चन्दन गौतम, सुवलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहरा, भवानी शंकर न्यौपाने, हरि वि.क., निर्मल शर्मा, सुशीला अधिकारी लगायत छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।