मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गए राति १०ः३० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगर सामुदायिक वन क्षेत्रमा विपरीत दिशातर्फ सवार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय विमल रानाले चलाएको सु प प्र ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकलमा सोही ठाउँका १८ वर्षीय सञ्जय राना, १८ वर्षीय मुकेश राना र लालझाडी गाउँपालिका वडा नम्बर २ बस्ने १६ वर्षीय सन्तोष राना गरी चार जना बेलौरी तर्फ सवार गर्ने क्रममा विपरीत दिशातर्फ सवार बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर बस्ने ३० वर्षीय हेमलाल चापागाईँले चलाएको से ३ प २४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुवै मोटरसाइकलका चालक र सु प प्र ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकलको पछाडि सवार सबै जनालाई उपचारका लागि बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा विमल रानाको मृत्यु भएको प्रहरी जनाएको छ ।

गम्भीर घाइते हेमलाल चापागाईँको थप उपचारका लागि धनगढी पठाइएको छ । अन्य तीन जनाको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काले बताए।