डब्लूएचओले भन्यो- ‘ओमिक्रोन र डेल्टाले ‘संक्रमणको सुनामी’ ल्याउन सक्छ’

काठमाडौँ : विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले ‘संक्रमणको सुनामी’ ल्याउन सक्ने चेतावनी दिएको छ । डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले बताए ।

अमेरिका र युरोपमा कोरोनाका पुनः नयाँ संक्रमितहरू बढ्दै गइरहेको समयमा डब्ल्यूएचओका प्रमुखको यस्तो भनाइ आएको हो। डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिए ।

बिज्ञापन

समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन् । पछिल्लो समय युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढिरहेको छ । फ्रान्समा लगातार दोस्रो दिन २ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोल्यान्डमा कोरोनाको चौथो लहर तीव्र रूपमा फैलिइरहेको छ । पोल्यान्डमा बुधबार मात्रै कोरोनाका कारण ७९४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु भएकामध्ये तीन चौथाइले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । त्यस्तै पछिल्लो समय डेनमार्क, पोर्चुगल, इंग्ल्यान्ड र अस्ट्रेलियामा पनि संक्रमण बढिरहेको छ । पछिल्लो समय विश्वभर कोरोनाको ओमिक्रोन भेरिएन्ट नै हाबी भएको विज्ञहरूको भनाइ छ ।

डेल्टाको तुलनामा यसबाट हुने जोखिम कम भए पनि यसैका कारण संक्रमणमा तीव्रता आएको जनस्वास्थ्यविद्को भनाइ छ ।अध्ययनले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भए पनि गम्भीर बिरामी पार्ने सम्भावना डेल्टाको भन्दा ३० देखि ७० प्रतिशत कम रहेको देखिएको छ ।