
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्। आज (आइतबार) बिहान विज्ञप्ति जारी गर्दै विश्वकर्माले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न इच्छुक नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

सहमहामन्त्री पदका आकांक्षी विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । तर देउवा समूहको प्यानलमा विश्वकर्मा नपरेपछि असन्तुष्ट छन् । विश्वकर्माले निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेवारी फिर्ता लिएको जानकारी गराएका छन् । मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज ११ बजेभित्र मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका अनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।



शनिबार दिनभर रहेको उम्मेदवारी दर्ताको समयमा ६ जना सभापतिसहित सबै पदमा उम्मेदवारी दर्ता भएको छ। महाधिवेशनको केन्द्रीय निर्वाचन समितिले शनिबार राति नै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ।
