
ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छन् । मन्त्री भुसालले नदी फर्काउने र बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी हुन् ।

निरीक्षणपछि मन्त्री भुसालले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा बिलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइन् । कुलेखानी बाहेक सञ्चालनमा रहेका सबै आयोजनाहरु नदीको बहावमा आधारित छन् । फलस्वरुपः हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नुपर्ने र वर्षामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ ।



‘यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नुपर्छ,’ उनले भनिन् । निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्दै उनले निर्माणमा आईपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाटे स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताइन् । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, व्यहोरिएको समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।