१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै

काठमाडौँ : कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आज, भोलि र पर्सि १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ ।

दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो। काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो तीन दिनमा खोप केन्द्रमा खोप लगाउन आउने यी उमेर समूहका सबैलाई खोप लगाइनेछ। स्वास्थ्य कार्यालय काठमाडौंले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ ।

बिज्ञापन

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइनेछ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ।