
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद्ले पुर्णता पाउने दाबी गरेका छन् ।
अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् ।
नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सोमबार काटमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज नै मन्त्रिपरिषदलाई पुर्णता दिई मन्त्रीहरूलाई सपथ ग्रहण गराउने पनि दाबी गरे ।

उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने बताए । ‘सकेसम्म आजै क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभएपनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ’, प्रचण्डले भने ।



प्रचण्डले देशलाई समाजवादको आधार तयार गर्दै दशकौंसम्म कम्युनिष्ट पार्टीको सरकार बनाउने प्रयास भए पनि केपी ओलीको कारण असफल भएको आरोप लगाए । ‘ओली देशको राजनीतिक परिर्वतन र कम्युनिष्ट एकतालाई क्षतविक्षत पार्न लागिपरेका छन,’ उनले भने‚ ‘कम्युनिष्टहरू एक हुने भए भन्ने कुरालाई जनताले निर्वाचनबाट अनुमोदन समेत गरेका थिए ।’
ओलीले प्रतिगमन गरेपछि संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा र सुदृढिकरण गर्नको लागि गठबन्धन बनेको बताए ।
