
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनका नव नियुक्त प्रधानमन्त्री बोरिस जोनसन भनेर अर्कै व्यक्तिलाई बधाई दिएका छन् ।




ब्रिटेनमा बुधबार नयाँ प्रधानमन्त्रीको रुपमा जोनसन चयन भएका थिए । ब्रिटेनलाई अगामी अक्टोबर ३१ भित्र युरोपेली संघ (इयु)बाट बाहिर निकाल्ने योजनासहित उनी प्रधानमन्त्री बनेका हुन् ।

सोही अवसरमा ओलीले ट्विटरमार्फत बधाई ज्ञापन गरेका थिए । डिजिटल कुटनीतिको पछिल्लो कडीको रुपमा नेताहरुले ट्विटरबाट बधाई आदान–प्रदान गर्ने चलन विश्वभरि नै स्थापित छ ।
त्यसैले ओलीले पनि विशेष घटना एवं अवसरहरुमा यो प्रचलन उपयोग गर्दै आएका छन् । यो पटक उनले बधाई ज्ञापन गर्दा ट्विटर ह्यान्डल समेत मेन्सन गरे । तर उनले ब्रिटेनका नवनियुक्त प्रधानमन्त्री भनेर जसलाई बधाई दिए ती ब्रिटेनका प्रधानमन्त्री होइनन् ।
प्रधानमन्त्री ओलीले @borisjonson लाई बधाई ज्ञापन गरेका छन् । यो ह्यान्डलका जम्मा ९ जना फलोअर छन् । फ्रोफायल फोटो छैन । बायो खाली छ । परिचयमा केही उल्लेख छैन । यो ह्यान्डलका ९ फलोअर मध्ये ओलीले मेन्सन गरेपछि ५ जना थपिएका हुन् ।
प्रधानमन्त्री ओलीले बधाइ दिनुपर्ने ब्रिटेनका नव नियुक्त प्रधानमन्त्री बोरिस जोनसनको ह्यान्डल @BorisJohnson हो । यसमा स्पष्ट संयुक्त अधिराज्यको प्रधानमन्त्री भनेरै उल्लेख छ ।
कन्जरभेटिभ नेता तथा सांसद भनेर खुलाइएको छ । यो ह्यान्डललाई करिब ७ लाख ५० हजारले फलो गरेका छन् । परिचय र तस्विरसहितको ह्यान्डल ट्विटरले भेरिफाइड समेत गरेको छ ।