
काठमाडौँ : काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ । हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।




कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको पराजुलीले बताए । निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए । निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ ।

बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ । उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो । यो तीन दिनपछि सकिँदैछ । त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको पराजुलीले बताए ।
मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिने पराजुलीले बताए । जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो ।
निषेधाज्ञा लम्ब्याउनुको कारणमा भिडभाड नै प्रमुख कारण रहेको पराजुलीले बताए । स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाई जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ ।