
विश्वव्यापी त्रास फैलाएको कोरोना भाइरसले च्याउ किसानलाई पनि गम्भीर समस्यामा पारेको छ । सरकारले गरेको लामो लकडाउनले आफ्नो उत्पादनले बजार नपाउदा च्याउ उत्पादक कृषकहरु गम्भीर आर्थिक संकटमा पर्न सक्ने देखिएको छ ।




झापाको गौरादह ४ मिर्मिरे चोक स्थित कल्याण च्याउ उद्योगका सञ्चालक गोपाल खरेलले सार्वजनिक रूपमा पत्र लेखेरे आफ्नो समस्या माथी छलफल गरिदिन आग्रह गरेका छन् । सामाजिक संजालमा भाइरल बनेको उक्त पत्रमा कुल ४५ सय बल च्याउ लगाइएको र हरेक दिन १ सय के. जी. च्याउ बजार अभावमा नस्ट गर्नु परेको उल्लेख गरेका छन् । उनले गौरादह, दमक लगायतका नजिकैको बजारमा लगेर बिक्री गर्ने गरेका थिए । बजार राम्रो थियो । राम्रै लगानी गरेर व्यावसायिक रूपमा च्याउ उत्पादन सुरु भएको थियो । स्थानीय गाउँ घरमा मात्र उत्पादित च्याउ खपत हुदैन, खरेलले पत्रमा उल्लेख गरेका छन् । उनले हाल सम्म २ हजार के जी च्याउ नस्ट गरिसकेको बताएका छन् । ….च्याउको सुकुटी बनाउने कोशिश पनि गरियो, वातावरणीय प्रतिकुलताका कारण सुकाउन सकिएन ….व्यवसाय भित्रको पीडा व्यक्त गर्दै खरेलले पत्रमा लेखेका छन् ।

उनले आफ्नो पत्रमा च्याउ उत्पादक कृषकहरुको संगठन संग समस्या सुल्झाइदिन आग्रह समेत गरेका छन् ।
च्याउ दैनिक रूपमा उत्पादन हुने र लामो समय सम्म भण्डारण गर्न समेत नसकिने हुनाले समयमा बिक्री बितरण गर्न नसक्दा नस्ट गर्नुको विकल्प नरहने खरेल बताउछन् ।
ओमकार टाइम्स संग कुरा गर्दै खरेलले भनें, ‘च्याउ बेच्न सकिएन, बजारको अभावले ठूलो चुनौतीको सामना गर्नुपर्ने बाध्यता छ, हाम्रो पीडा कसले सुनिदिने?’ । लामो समय वैदेशिक रोजगारीमा रहेर फर्किएका खरेलले च्याउ उद्योगको स्थापना गरि व्यवसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् । बजारको राम्रो प्रबन्ध हुँदा बिदेशमा भन्दा राम्रो पैसा कमाउन सकिने र स्वरोजगारको राम्रो माध्यम बन्न सक्ने खरेल बताउछन् ।
खरेलको उक्त पत्रले लक डाउनका कारण मुलुक भरका कैयौं च्याउ उत्पादक कृषकलाई परेको समस्या र आगामी दिनमा उनीहरुले सामना गर्नुपर्ने चरम आर्थिक संकटलाइ सम्बोधन गरेको देखिन्छ भनें वैदेशिक रोजगारी छोडेर कृषि क्षेत्रमा आफ्नो भविस्य देख्ने युवाहरूलाई समेत एक पटक सोचेर मात्र लगानी गर्न सुझाव प्रदान गरेको छ ।
लक डाउनको समयमा नोक्सानी बेहोर्न बाध्य खरेल एक प्रतिनिधि पात्र मात्र हुन् । सरकारले उनी जस्ता कैयौं च्याउ उत्पादक कृषकको समस्यालाई मध्यनजर गर्दै बजारको उचित प्रवन्ध गरिदिनु पर्ने र आवस्यक क्षतिपूर्ति समेत उपलब्ध गराउनुपर्ने आम च्याउ उत्पादक कृषकको माग रहदै आएको छ ।