युरोपेली मुलुक माल्टा लैजाने भन्दै ६५ लाख रुपैयाँ ठगी गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । युरोपेली मुलुक माल्टामा रोजगारीको प्रलोभन देखाई भारतीय नागरिकले नेपाली युवाहरुलाई ठगी गरेको खुलेको छ।

 

बिज्ञापन

भारतको दिल्ली घर भई हाल काठमाडौं सिनामंगल बस्ने राहुल पाण्डेले माल्टामा रोजगारीको प्रलोभन देखाई ठगी गरेको खुलेको हो। राहुलले भिभी इन्टरनेसनल प्रालिको नाम लिई नेपाली युवाहरुलाई माल्टा पठाउने बताउने गरेका थिए।

 

युवाहरुबाट लाखौं रकम असुल्दै रोजगारीमा नपठाएपछि पीडित युवाहरु भिभी इन्टरनेसनलमा पुगेका थिए। भिभी इन्टरनेसनलमा युवाहरु पुगेपछि राहुलले दिलाएको भिसा नक्कली भएको खुलेको थियो ।

 

राहुलले विभिन्न चरणमा गरी कामदारहरुको भिषा प्रकृयालगायत कामका लागि भन्दै ६५ लाख ७० हजार ६ सय रूपैयाँ ठगी गरेको पीडितहरुले दाबी गरेका छन्।

 

महाशाखाले खोजतलास गर्ने क्रममा राहुललाई शुक्रबार साँझ टेकुबाट पक्राउ गरेको छ।

 

पक्राउ प्रतिवादी राहुललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा लगिएको महाशाखाले जनाएको छ।