सिभिल अस्पताल कोभिड बिरामीका लागि १५० बेड छुट्याइयो

काठमाडौँ : सिभिल अस्पतालमा कोरोना (कोभिड १९) बिरामीका लागि १५० बेड छुट्याइएको छ । शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीहरुका लागि १५० बेड छुट्याइएको हो ।

त्यसबापत प्रदेश सरकारले अस्पताललाई दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सम्झौता अनुसार १५० शय्याको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक (औषधि, उपकरण, भवन आदि) जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नुपर्नेछ ।

बिज्ञापन

साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर मन्त्रालयको स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिवेदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पताको तर्फबाट कार्यकोरी निर्देशक डा विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता शुक्रबारदेखि नै लागु भएको अस्पतालले जनाएको छ ।