
अफगानिस्तानमा दुई पत्रकारमाथि तालिबानले कोर्रा हानेको छ । ती दुई पत्रकारलाई विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका बेला तालिबानले पक्राउ गरेको र कोर्रा हानेको जानकारीमा उल्लेख छ ।

एटिलाट्रोज पत्रिकाका दुई पत्रकारका केही तस्बिर सार्वजनिक भएका छन् जसमा उनीहरुको शरीरमा निर्घात कुटपिटपछि लाग्ने चोटको निशान देखिएका छन् ।



यीमध्ये एक पत्रकार ताकी दरयाबीले बीबीसीसँगको कुराकानीमा आफूलाई जिल्ला थानामा लगिएको र त्यहाँ नै आफूमाथि कुटपिट भएको बताए ।

बुधबार बीबीसीको टिमलाई पनि भिडियो बनाउन रोक लगाइएको जानकारीमा उल्लेख छ ।
ताकी दरयाबीसँग फोटोग्राफर नेमतुल्लाह नकदी पनि थिए । यी दुई पत्रकार बुत्रबार राजधानी काबुलमा भएको महिलाको विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका थिए ।
त्यसपछि उनीहरुलाई प्रहरी थाहा लगिएको जहाँ उनीहरुलाई डण्डा, बिजुलीको तार र कोर्राले कुटपिट गरियो । केही घण्टापछि तालिबानले केही नभनिकनै उनीहरुलाई रिहा गरिदिए ।
आठजनाद्वारा कुटपिटः
ताकी दरयाबीले बीबीसीसँगको कुराकानीमा भने, ‘उनीहरुले मलाई अर्को कोठामा लिएर गए र मेरो हात पछाडिबाट बाँधे । मैले आफूलाई बचाउने कोसिस गरिनँ किनभने मैले यसो गर्दा उनीहरुले ममाथि थप कुटपिट गर्दथे । त्यसैले म घोप्टो परेर सुतेँ ताकि शरीरको अगाडिको भागलाई बचाउन सकूँ ।’
‘आठ जना आए र हातमा जे जे छ, त्यसले कुट्न सुरु गरे । मेरो अनुहारमा देखिएको घाउ जुत्ताको हो । उनीहरुले मेरो अनुहारमा लात्ताले हानेका थिए । त्यसपछि म बेहोस भए, उनीहरु रोकिए । उनीहरुले मलाई अर्को भवनमा लगेर छोडिदिए ।’
ताकी दरयाबीले पिटेपछि उनी बेहोस भएको र त्यसको करिब दुई घण्टापछि उनलाई रिहा गरिएको बताए ।
उनले भने, ‘म निकै मुश्किलले हिँड्न सकिरहेको थिएँ तर उनीहरुले हामीलाई छिटोछिटो हिँड्न भनिरहेका थिए । मलाई असाध्यै गाह्रो भइरहेको थियो ।’
धन्य हौ, तिमीहरुको टाउको काटिएनः
नेमतुल्लाह नकदीका अनुसार उनीहरुले विरोध प्रदर्शनकारीको तस्बिर खिच्न सुरु गर्ने बित्तिकै तालिबान लडाकूले उनीहरुको क्यामरा खोसे ।
नेमतुल्लाहले समाचार एजेन्सी एएफपीलाई भने, ‘एक तालिबानले मेरो टाउकोमा लात हाने र अनुहारमा कुल्चिए । मलाई लाग्यो उनीहरुले हाम्रो हत्या गर्नेछन् ।’
जब नेमतुल्लाहले आफूमाथि किन कुटपिट गरिरहेको भनेर सोधे तब जवाफ पाए, ‘धन्य होउ, तिम्रो टाउको काटिन लागेको होइन ।’
एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सिपिजेका अनुसार पछिल्लो दुई दिनमा १४ पत्रकारलाई हिरासतमा लिएर छोडिएको छ ।