
सर्लाही । सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो (आषिश) र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जनाएको छ ।
बिज्ञापन



नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् । सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका सशस्त्र प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेका हुन् ।

सशस्त्र प्रहरी बल १० नं गणका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार उनीहरू बीआर ३० वाइ ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा आएका थिए ।