
डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने महाकाली नदीपछिको दोस्रो ठूलो रंगुन नदीमा पक्की पुल निर्माण कार्य सुरु भएको पाँच वर्ष पूरा हुँदा पनि अझै काम सम्पन्न हुन सकेको छैन ।




२०६९ सालमा सम्झौता भएको सो पुलको निर्माण आर्थिक वर्ष २०७४\०७५ मा सम्पन्न गर्ने सम्झाैता भएको थियो । निर्धारित समयमा पुल निर्माण कार्य सम्पन्न हुन नसकेपछि एक वर्ष म्याद थप गरियो । तर, थपिएको म्याद सकिँदासम्म अझै २५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ ।

पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रिँदासमेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय आक्रोशित भएका छन् । तर, मेयर नै ठेकेदार रहेकाले उनविरुद्ध स्थानीय खुलेर बोल्नसमेत चाहँदैनन् ।
बर्सेनि पुल नहुँदा वर्षाको समयमा दुईदेखि चार जना नदी तर्दा बग्ने र हराउने गर्छन् भने नदी वारपार गर्न सधैं समस्या हुने गर्छ । पुल निर्माणपछि भने यो दुःखबाट मुक्ति पाइने स्थानीयकाे सपना यो वर्षामा पनि पुरा हुन सकेन ।
वर्षाको समयमा नदीमा बाढीको जोखिम उच्च हुने भएकाले पक्की पुल बन्ने खबर सुनेर खुसी भएका स्थानीय फेरि दुःखी भएका छन् । वर्षाको समयमा बाढीमा तर्दाको जोखिमबाट मुक्ति पाइने भन्दै स्थानीय खुुसी भएका थिए ।
परशुराम नगरपालिका कटालका स्थानीय रामसिंह धामीले प्रश्न गरे, ‘यो पुलबाट वारपार गर्ने दिन कहिले आउने हुन् ?’ उनले थपे, ‘हाम्रो बालबच्चा जोखिम मोलेर यो नदी वारपार गर्छन् । यो पुल बन्ने कहिले ?´
कुल लम्बाइ २ सय ५२ मिटर रहेको सो पुल ११ करोड लागतमा निर्माण भइरहेको छ । परशुराम नगरपालिकाको लालढुंगा बजार र कटाल बजारलाई जोड्ने गरी निर्माण भइरहेको पुल निर्माण भएपछि भित्री मधेस क्षेत्रसहित साविकका रुपाल, बगरकोट तथा बैतडी जिल्लाका तल्लो स्वराडका साविकका पाँच गाविसका हजारौं स्थानीय लाभान्वित हुनेछन् ।
पुल निर्माण भएपछि परशुराम नगरपालिकास्थित परशुराम धार्मिक क्षेत्रमा धार्मिक पर्यटकको आगमनमा वृद्धि हुने विश्वास स्थानीयले लिएको कटालका पदम जोशीले बताए । यसले गर्दा परशुराम नगरपालिकाको कटाल, शीर्ष, लालढुंगा, परिगाउँमा जमिनको मूल्यमा समेत वृद्धि हुने जोशीको भनाइ छ ।
पुल समयमा निमार्ण नहुँदा बर्खाको समयमा मात्र नभई पहाडमा समान्य वर्षा हुदाँ यातायात नै ठप्प हुने गरेका छन् । रंगुन नदीमा पुल नहुँदा वर्षाको समयमा सो क्षेत्रका स्थानीय स्वास्थ्य उपचारदेखि दैनिक उपभोग्य सामग्री खरिदका लागि समेत वञ्चित हुने गरेका थिए भने विद्यार्थीले बाढी आएको समयमा ट्युबमार्फत विद्यालय जाने आउने गरेको स्थानीय बताउँछन् ।
पप्पु राजेन्द्र जेभी निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद अहिले परशुराम नगपालिकाका मेयर बनिसकेका छन् । साउद नै ठेकेदार रहेको सो पुल निर्माण सम्पन्न नहुँदा स्थानीय उपभोक्ताको समस्या समाधान हुन ढिलाइ भएको छ ।
मेयर नै ठेकेदार रहेको पुल निर्माणमा ढिलाइ मात्र भएको छैन । पुलको मुनिबाट नदी तर्न भने त्यहाँका स्थानीयले ५० रुपैयाँ तिर्दै आएका छन् । तर यो पनि कम जोखिमपूर्ण छैन । टायरको सहयोगमा खोला तारिदिनेले प्रत्येक पटक वारपार गराएको ५० रुपैयाँ लिने गरेका हुन् ।
सो क्षेत्रको मुख्य बजार जोगबुडा बजार आवतजावत गर्न रंगुन खोला तर्नैपर्छ । अस्पताल, बैंक, नागरिकता, पासपोर्टलगायतका कामकाजका लागि स्थानीय जाेखिम माेलेर खाेला तर्न बाध्य छन् ।