
काठमाडौ । मूल्य अभिवृद्धि कर ऐन २०५२ (संशाेधनसहित) को दफा ९ ले सानो कारोबार गर्ने व्यवसायीलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभए पनि हुने छुट दिएको छ ।





ऐनको दफा ९ को थप व्याख्या गर्दै मूल्य अभिवृद्धि कर नियमावली २०५३ (संशाेधन सहित) को नियम ६ ले वार्षिक (१२ महिना) को कारोबार २० लाख रुपैयाँभन्दा बढी हुदैन भने भ्याटमा दर्ता हुनु पर्दैन भन्छ ।
तपाईं ऐनको दफा ९ र नियमावलीको नियम ६ पढेर ढुक्क भएर बस्नुभएको छ भने फस्न सक्नुहुन्छ । किनभने ऐनमै केही यस्ता व्यवसाय तोकिएको छ, जसमा वार्षिक कारोबार रकम जति भएपनि भ्याटमा दर्ता हुनै पर्छ ।
सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनबाट केही व्यवसायमा वार्षिक कारोबार रकम जति भएपनि भ्याटमा दर्ता हुनैपर्ने वाध्यकारी व्यवस्था गरेको हो । आर्थिक ऐनले मूल्य अभिवृद्धि कर ऐनको दफा १० मा संसोधन गर्दै तोकिएका व्यवसाय भ्याटमा दर्ता हुनै पर्ने भनेको छ ।
ऐनको दफा १० को उपदफा २ मा त्यस्ता व्यवसाय तोकिएको छ । जसमा (क) ईटा उत्पादन गरी कारोवार गरेमा, मदिरा डिष्ट्रिव्युटर, वाइन सप, सफ्टवेयर, ट्रेकिङ, र्याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, बालुवा खानी, स्लेट र ढुंगा उद्योग सम्बन्धी व्यवसाय सञ्चालन गरेमा भ्याटमा दर्ता हुनै पर्ने भनिएको छ ।
(ख) कुनै व्यक्तिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ, अटोमोवाइल्स, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्यूटीपार्लर, क्याटरिङ सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, आइसक्रिम उद्योग, कलरल्याब, बुटिक, सुटिङ सर्टिङको सामान सहितको टेलरिङ व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने व्यवसाय पनि भ्याटमा दर्ता नगरी हुदैन ।
यस्तै मूल्य अभिवृद्धि कर नियमावली २०५३ (संसोधन सहित) को नियम ७ ले कारोबार दर्ता गराउनै पर्ने विशेष अवस्थाको व्याख्या गरेको छ । जसमा (१) कुनै व्यक्तिको वार्षिक कारोबार बीस लाख रुपैयाँ नाघ्न सक्ने अनुमान गर्न सक्ने अवस्था भएमा त्यस्तो अवस्था खुलाई अनुसूची–१ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) मा उल्लेख भएअनुसार अनुमान गर्न सकिने अवस्था नभै कसैले गरेको कारोबारको रकम बीस लाख रुपैया नाघ्न गएमा त्यसरी नाघेको मितिले तीस दिनभित्र त्यस्तो कारोबार गर्ने व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) कुनै करदाताले आफ्नो कारोबारको सीमा बीस लाख रुपैंया नभएको दावी गरेको विषय उपर कर अधिकृतलाई शंका लागेमा निजले त्यस्तो करदाताको स्वीकृतिमा पेशागत संस्थासँग परामर्श गर्न सक्नेछ ।
(४) ऐनको दफा १० को उपदफा (२) बमोजिम दर्ता गर्नुपर्ने वस्तु वा सेवाको कारोबार गरेका व्यक्तिले यो उपनियम प्रारम्भ भएको मितिले तीस दिनभित्र त्यस्तो कारोबार दर्ता गर्नु पर्नेछ ।
(५) नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले गरेको कारोबारको सम्बन्धमा देहायको अवस्था भएमा त्यस्तो कारोबार कार्यालयमा दर्ता गर्नु पर्नेछ । (क) कर अधिकृतले निरीक्षण गर्दाका बखत कारोबार गर्ने व्यक्तिसँग रहेको वस्तुको प्रकृतिको आधारमा विभागले तोकेको रकमभन्दा वढी मूल्यको वस्तु मौज्दात भएमा, (ख) कुनै व्यक्तिको टेलिफोन महसुल र घर वहाल गरी वार्षिक एक लाख रुपैंयाभन्दा बढी खर्च भएमा, वा (ग) विभागले तोकेको बजार वा सडक क्षेत्रभित्रको विभागले तोकेको निश्चित क्षेत्रफलमा कुनै व्यक्तिको कारोबार स्थल भएमा ।