
एजेन्सी । भारतमा दुईदेखि १८ वर्षसम्मको उमेर समूहमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण हुने भएको छ। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन सिडिएससिओले दुई वर्षदेखि १८ वर्ष उमेर समूहमा भारत बायोटेकले उत्पादन गरेको कोभिडको भ्यक्सिन खोपको दोस्रो र तेस्रो चरणको ट्रायल परीक्षण गर्न अनुमति दिएको हो । एम्स दिल्ली, एम्स पटना र मेडिट्रिना इन्स्टिच्युट अफ साइन्सेजका पाँच सय २५ जनामा खोप परीक्षण गरिने भएको छ ।

सिडिएससिओका विज्ञहरूका अनुसार खोपको तेस्रो चरणको परीक्षणको अनुमति लिनुअघि सिडिएससिओलाई दोस्रो चरणको परीक्षणको नतिजासहित डेटा एन्ड सेफ्टी मनिटरिङ डिएसएमको सिफारिस बुझाउनु पर्ने हुन्छ । गत २४ फेब्रुअरीमा भारत बायोटेकले परीक्षणका लागि प्रस्ताव राखेपछि खोपको क्लिनिकल ट्रायलका लागि तयार गरिएको मापदण्ड पेश गर्न निर्देशन दिइएको थियो ।



भारत बायोटेकले भारतीय मेडिकल रिसर्च आइसिएमआरको सहकार्यमा स्वदेशी रूपमा विकसित गरेको कोभाक्सिन खोप अहिले भारतमा १८ वर्षमाथिका व्यक्तिहरूलाई दिइँदै छ । यसअघि क्यानडा र अमेरिकामा बालबालिकाहरूका लागि कोरोना खोप प्रयोगको अनुमति दिइसकेको छ ।
