
झापा । झापामा निषेधाज्ञा जारी भएको पाँच हप्ता पुगेको छ । निषेधाज्ञा लागू भएको पाँच हप्ता भइ सक्दा पनि संक्रमण भने नियन्त्रणमा आएको देखिदैन ।

जिल्ला प्रशासन कार्यालय झापाले बैशाख २२ गते देखि निषेधाज्ञा जारी गरेको थियो ।



निषेधाज्ञाको पहिलो हप्तामा १ हजार २ सय ६७ जना संक्रमित हुनुका साथै २२ जनाको मृत्यु भएको थियो भने पाँचौ हप्ताको तथ्यांक हेर्दा १ हजार २ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जनाको ज्यान गएको छ । यसरी हेर्ने हो भने नयाँ संक्रमितको संख्या थोरै घटेको भएपनि मृत्यु हुनेको संख्या भने बढेको देखिन्छ ।

संक्रमण नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा जेठ २० गते पालिका प्रमुखहरुको समेत उपस्थितिमा बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बिस्तारित बैठकले जेठ २२ देखि मसान्त सम्मका लागि पाँचौ पटक निषेधाज्ञा थप गरेको छ । बैठकले आइतबार र बुधबार बिहान ६ देखि ९ बजे सम्म खाद्यान्न, फलफुल, मासु तथा डेरी खुल्ला गर्ने निर्णय गरेको थियो ।
हाल जिल्लामा २ हजार २ सय ६७ पुरुषसहित ४ हजार १ सय ३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तीन हजार जना निको भएका छन भने दोस्रो लहर सुरु भए यता १०६ जना पुरुष र ४८ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।