चिनियाँ रकेट हिन्द महासागरमा खस्यो, टर्‍यो खतरा

एजेन्सी । चीनको अनियन्त्रित रकेट लङ मार्च ५ बी आज पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको छ । यो माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ ।  २१ टन वजनको विशाल रकेट अन्तरिक्षमा अनियन्त्रित भएपछि पछिल्ला दिन पृथ्वीतर्फ बढ्दै थियो । यदि, मानिस बसोबास गर्ने इलाकामा यो खसेको भए ठूलो क्षति हुनसक्ने थियो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अधिकांश अवशेष पृथ्वीको वायुमण्डलमा पुन प्रवेशका दौरान नै जलेको थियो । चीनले यस रकेटमार्फत अन्तरिक्षमा बनाइने आफ्नो तियांगोंग सुपर स्टेशनको पहिलो हिस्सा पठाएको थियो ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनविनले यसै हप्ता रकेटको अवशेष पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै जल्ने दाबी सञ्चारमाध्यमसँग गरेका थिए । चीनले आगामी हप्ता आफ्नो अन्तरिक्ष केन्द्र कार्यक्रमका लागि अर्को रकेट पनि पठाउन सक्छ । किनकी, उसले अर्को वर्षसम्म यस परियोजनालाई पूरा गर्ने लक्ष्य राखेको छ ।

बिज्ञापन

चिन्ताको जरुरी छैन– चीन 

चिनियाँ वैज्ञानिकहरुले पृथ्वीको कक्षमा आइ पुग्नासाथ रकेटको अधिकांश हिस्सा जलिसक्ने हुनाले चिन्ता गर्नुपर्ने आवश्यकता नरहेको जनाएका थिए ।  बचेको हिस्सा पनि मानिसको बसोबास नरहेको इलाका वा महासागरमै गिर्ने उनीहरुले बताएका थिए । धर्तीको ७५ प्रतिशत हिस्सा पानीले भरिएको छ, बाँकी २५ प्रतिशत इलाकामध्ये पनि अधिकांश इलाकामा मानिसको बसोबास छैन, त्यसैले यसबाट मानिसलाई क्षति हुने खतरा निकै कम थियो ।