
ओखलढुंगा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने बताउँदै उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकार विरोधी समूहलाई सहयोग पुगेको भनाइ राखे । बहुमत प्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरे पनि अदालतले त्यो निर्णय उल्टाएर अराजकतालाई प्रश्रय दिएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले सङ्घीयताले नागरिकलाई घरदैलोमा सेवाको पहुँच पुर्याइएको बताए । दुर्गम पहाडी जिल्लामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय स्थापना गरेर सबै जिल्लाका नागरिकलाई सहज सुविधाको व्यवस्था गरिएको उनको भनाइ थियो ।कार्यालय स्थापनासँगै सवारी लाइसेन्स, दर्ता, नवीकरणलगायत सबै काम ओखलढुङ्गाबाट हुनेछ । यसअघि यातायातसम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नं. २ को लहान, इटहरी वा राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो ।



