
विराटनगर/ विश्वभर फेब्रुअरी १४ दिन मनाईने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसमा रातो गुलाबको बिशेष महत्व हुन्छ । युवायुवतीहरुले प्रेमको प्रतिकको रुपमा रहेको रातो गुलाब दिएर प्रेम दर्शाउने तथा प्रस्ताव राख्ने गर्छन् । तर कोरोना महामारीको प्रभाव स्वरुप यसबर्ष भने प्रेमको प्रतिकको रुपमा रहेको रातो गुलाबको व्यापार निराशाजनक छ ।

हुन् त प्रेम दर्शाउन कुनै दिवसको आवश्यकता पर्दैन । साँचो प्रेम गर्नेहरुले हरेक दिन प्रणय दिवसको रुपमै मनाईरहेका हुन्छन् । तर पछिल्लो समय युवा पुस्ता माझ प्रणय दिवसले विशेष महत्व राख्दै आएको छ । युवा पुस्ताहरुले प्रणय दिवसलाई उत्सवका रुपमा मनाउन थालेका छन् । यो दिन प्रेमी प्रेमिकाले एक अर्कालाई उपहार दिएर र रातो गुलाब दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन । यसदिन राखिएको प्रस्ताव प्रेमी प्रेमिकाले सहजै अस्वीकार गर्दैनन् भन्ने विश्वास राखिन्छ । प्रेमि,प्रेमीकाले रातो गुलाफ स्वीकार गर्नुलाई प्रेम प्रस्ताव स्वीकार गरेको मानिन्छ ।



तर प्रणय दिवसका दिन बिशेष महत्व बोकेको गुलाब फुलको व्यापार यसबर्ष निराशाजनक अवस्थामा छ । प्रणय दिवसका लागि भनेर विराटनगरका व्यापारीहरुले भारतको बंगाल, कलकत्ता, बैंगलोर र थाइलेण्डबाट रातो गुलाब आयात गरेका थिए । तर कोरोना महामारीले अर्थतन्त्र पारेको प्रभाव र आम नागरिकको कमजोर क्रयशक्तिका कारण गतवर्षको तुलनामा यसवर्ष फुलको व्यापार सन्तोषजनक नरहेको स्थानीय फुल व्यापारी बानेश्वर पण्डितले बताउनुभयो ।

प्रणय दिवसको अवसर पारेर रातो गुलाबको बिक्री बढी भएपनि यसबर्ष रोज डे को तुलनामा समेत फुलको व्यापार न्युन रहेको अर्का फुल व्यापारी सुरजित छाब्राको भनाई छ । विराटनगरमा खपत हुने ७० प्रतिशत फुलहरु विदेशबाट नै आयात हुन्छन् । तर भन्सारबाट कच्चा तरकारी रुपमा आयात हुने भएको हुनाले भन्सार कार्यालयसँग पनि फुलको आयात सम्बन्धी यकिन तथ्याङ्क छैन् ।