
काठमाडौं : जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर नयाँ संसद्का लागि भन्दै भोट माग्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार धनगढीमा लामो भाषण गरे । तर, साढे २९ महिनादेखि सुदूरपश्चिममा ठूलो आन्दोलनको विषय बनेको निर्मला घटनाबारे एक शब्द बोलेनन् ।

जब कि निर्मलाका आमा–बुबाले दुई वर्षअघि बालुवाटार नै पुगेर प्रधानमन्त्री ओलीसँग न्यायका लागि गुहार मागेका थिए । धनगढी पुगेका ओलीले न्यायको आसमा संघर्षरत निर्मलाको परिवारलाई सम्झन पनि चाहेनन् ।



‘निर्मला पन्तका बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर न्याय मागिरहेका युवालाई पक्राउ गरियो, त्यो पनि प्रधानमन्त्री ओलीकै सभाबाट । आठ सय ९८ दिन बित्दासमेत हत्यारा पत्ता लगाउन नसकेको सरकारले न्याय माग्दै प्रश्न गर्नेहरूको पनि मुख थुन्ने प्रयास गर्न थालेको छ ।

प्रहरीले १० साउन ०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मलाको हत्यारा अझै पत्ता लगाउन सकेको छैन । यस विषयमा सभ्य शैलीमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउन केही विद्यार्थी शुक्रबार नेकपाले धनगढीमा आयोजना गरेको जनसभामा ‘निर्मला पन्तका बलात्कारी खै ?’, ‘निर्मलालाई न्याय दे’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए । किनभने सभाका प्रमुख अतिथि प्रधानमन्त्री ओली थिए ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्न सम्भव नहुने भएकाले उनीहरूले टिसर्टमा नारा लेखेर न्याय माग्न खोजेका थिए । तर, प्रधानमन्त्रीनिकट नेताहरूको निर्देशनमा प्रहरीले उनीहरूलाई सभास्थलबाट पक्राउ गरेर हिरासतमा पु¥यायो ।
प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा सुदूरपश्चिमका चार मन्त्री बनाउनेदेखि विकास निर्माणसम्मका विषयमा लामो भाषण दिए पनि निर्मला हत्याका विषयमा एक शब्द पनि बोलेनन् । जब उनी काठमाडौंका लागि उडे, त्यसपछि मात्रै प्रहरीले पक्राउ गरिएका युवालाई साँझ रिहा गरेको छ ।
पक्राउ गरिएका युवाहरूमा धनगढीका २४ वर्षीय विनोद खड्का, २९ वर्षीय सुरेश कुँवर, २१ वर्षीय ताराप्रसाद जोशी, १८ वर्षीय प्रवीण खड्का, २३ वर्षीय आरुद शाह, २४ वर्षीय सागर जोशी र २१ वर्षीय राजेन्द्र शाही रहेका छन् । उनीहरू सबै विद्यार्थी हुन् ।
प्रहरीकै अनुसार पनि उनीहरूले प्रधानमन्त्रीको कार्यक्रममा कुनै अवरोध गरेका थिएनन, नारा पनि लगाएका थिएनन् । निर्मलाका हत्यारा पत्ता लागेका छैनन् भनेर ध्यानाकर्षण गर्न टिसर्ट मात्र लगाएका थिए । ओलीनिकट नेताहरूको दबाबमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको स्रोत बताउँछ ।
यति गम्भीर घटनाका पीडितलाई न्याय माग्दासमेत बल प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतले यसको निन्दा गरेका छन् । नागरिकको मौलिक हकमाथि बल प्रयोग भएको भन्दै प्रहरीमाथि प्रश्न उठेको छ ।
कैलालीका प्रहरी प्रमुख एसपी अनुपमशमशेर जबराले भने टिसर्ट लगाएका युवाहरूकै सुरक्षाका लागि पक्राउ गरिएको दाबी गरे । ‘एउटा प्रकृतिको कार्यक्रममा अर्काे विषयको टिसर्ट लगाएर आउँदा कार्यक्रम बिथोल्न आएको भनेर विवाद होला कि भनेर हामीले उहाँहरूलाई सुरक्षा दिएर ल्याएका हौँ, साँझ घर पठाइसक्यौँ,’ उनले भने । नयाँ पत्रिका दैनिकम खबर छ ।