
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएका छन् ।आइतबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा नेकपा ओली पक्षीयले आयोजना गरेको विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएका हुन् ।

सम्बोधनका क्रममा ओलीले मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको बताएका हुन् ।



यस्तै सभामुख र राष्ट्रपतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको संवैधानिक इजलासले सोधेको कारणको जवाफ दिएका छन् । सभामुख अग्नि सापकोटाले लिखित जवाफ दिँदै प्रधानमन्त्रीलाई त्यो अधिकार नभएको बताएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस १९ गतेभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई प्रतिनिधिसभा विघटनसँग सम्बन्धित कागजात बुझाउन र कारणबारे प्रष्ट पार्न कारण देखाउ आदेश जारी गरेको थियो ।