गुजरातको एक काेराेना विशेष अस्पतालमा आगलागी, ५ बिरामीको मृत्यु

भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक काेराेना विशेष अस्पतालमा आगलागी भएको छ । बिहीबार राति भएकाे आगलागीमा परी कम्तीमा ५ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतक सबै कोरोना संक्रमित बिरामी रहेकाे बताइएकाे छ ।

दैनिक भास्करका अनुसार उक्त आगलागीकाे घटना बंगला चौराहाको नजिकै रहेकाे उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको हो । साे क्रममा जलेर घाइते भएका एक बिरामीको स्थिति गम्भीर रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको भए पनि थप अनुसन्धान भइरहेकाे त्यहाँकाे प्रहरीले जनाएको छ ।

बिज्ञापन

साे घटनामा ज्यान गुमाउनेमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, संजय राठौर र केशुभाई अकबरी रहेकाे बताइएकाे छ । अस्पतालमा कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको थियो । उक्त अस्पतालमा गत सेप्टेम्बरमा काेराेनाका बिरामीकाे उपचार गर्न मन्जुरी दिइएको थियो ।