
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने बताए ।

उनले सङ्क्रमितले उपचार गर्न सक्दिनँ भनेर स्वघोषणा गरे, अस्पतालले उपचार खर्च बेहोर्न नसकेमा सरकारले निशर्तः उपचार गर्ने बताए। नागरिकले चुनेको सरकार नागरिकको स्वास्थ्यप्रति सचेत रहेकाले उपचार पाउनेमा ढुक्क हुन आग्रह पनि गरे।



यस्तै प्रधानमन्त्री ओलीले जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रधानमन्त्री कार्यालयमा हुने सार्वजनिक टीका कार्यक्रम पनि नहुने जानकारी गराए ।

उनले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु आग्रह गरे ।