
जनकपुर/बलात्कारका घटना गाउँमै मिलाउने आठ जना पञ्चलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार गत १२ असोज १२ मा विष्णुपुर गाउँपालिका- १ स्थित १५ वर्षीया किशाेरीसँग स्थानीय २० वर्षीय युवकले गरेको बलात्कारको घटना गाउँमै पञ्चायती गरेर मिलाउने आठ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा स्थानीय पञ्च सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, राम उद्गार यादव, जगविर यादव, राजकुमार यादव र रौदि भनिने श्यामसुन्दर यादव रहेका छन् । बलात्कार आरोपमा पक्राउ परेका पीडक मुकेश सिंहलाई समेत जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको छ ।



पीडक युवकलाई ५ लाख रुपैयाँ जरिमाना तिर्न लगाएर घटना मिलाउन खोजिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईँले जानकारी दिए । उनका अनुसार गएको शुक्रबार बलात्कारको घटनामा स्थानीय पञ्चहरूले पीडकको आफन्तसँग तमसुक कागजसमेत गराई उक्त कागज स्थानीय अगुवा जगविर यादवको जिम्मा राखिएको थियो ।

यादवको घर खानतलासी गर्दा बलात्कारको घटना मिलाउन पञ्चहरुले रकम दिने नक्कली ऋणी र धनी खडा गरेको पाइएको उनले बताए । काजगमा धनी रामगुलाम यादव, लक्षुमण यादव उल्लेख गरिएको छ भने सिंहेश्वर साह र शत्रुधन साहलाई ऋणीको रुपमा उभ्याएर ५ लाखको तमसुक बनाइएको छ ।
पञ्चहरू नै ऋणीको रुपमा उभिएका छन् । पीडित किशोरीलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो । बालिका निको भएर १६ असोजमा घर फर्किएपछि स्थानीय अगुवासहितको सहयोगमा पीडक पक्षले बलात्कार घटना ढाँकछोप गर्न पञ्चायी गराएका थिए ।