
काठमाडौँ- सरकारले विभिन्न बहानामा धर्मावलम्बीका धार्मिक गतिविधि रोक लगाएको भन्दै विश्व महासंघले आपत्ति जनाएको छ ।




नेपाल हिन्दु ओमकार परिवारको आस्थाको देश भएपनि राजनीति दलका केही नेताहरूले विदेशीको प्रलोभनमा परी धर्मनिरपेक्ष पारेर धर्मावलम्बीको भावनामा चोट पुर्याएको भन्दै धर्मनिरपेक्षताका विरुद्धमा सम्पूर्ण हिन्दु ओमकार परिवार एकजुट रहेको महासंघले जनाएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल कोभिड १९ को कारण लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरी सम्पूर्ण मठ, मन्दिर, देवस्थलहरू बन्द गरिएको छ । हाम्रो जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुकमा सम्पन्न हुँदै आएका परम्परागत देवी देवताका जात्रा पूजाहरू समेत रोक्ने प्रयास नेपाल सरकारबाट गरिँदै आएकोमा हाम्रो आपत्ति छ ।’
महासंघले भनेको छ, ‘असोज १ गतेदेखि बजार, यातायात तथा सम्पूर्ण कारोबारहरू खुल्ला गरे तापनि आराध्यदेव भगवान् श्रीपशुपतिनाथ, माता जानकीलगायत विभिन्न शक्तिपीठहरू, सम्पूर्ण मठ मन्दिर, गुम्बा, चैत्य, बिहार तथा सम्पूर्ण देवस्थलहरूमा सहज र सुरक्षित दर्शनका लागि तत्काल खुल्ला गर्न/गराउन नेपाल सरकारलाई अनुरोध गर्दछौँ ।’