
महोत्तरी- प्रदेश २ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्टको संख्या दोब्बरभन्दा बढी थप गर्ने भएको छ।

भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बीओपी) को अहिलेको ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश-२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको छ।



सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको नियन्त्रणमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) थपिन लागेको हो। बाहिनीका अनुसार प्रदेश २ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न लागिएको छ।

प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बिओपी थप्ने योजनाअन्तर्गत तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याउने बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले बताए।
यसक्रममा केही नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । त्यसपछि क्रमशः दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ बिओपी स्थापना गरिने छ । सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा तीनहजार ५०० जनशक्ति परिचालित छन्।