प्राधिकरणको नाफा बढ्यो, लक्ष्यभन्दा धेरै भारत निर्यात

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले आफ्नो नाफा विस्तारको गतिलाई अझै बढाएको छ । प्राधिकरणले यो वर्ष नाफाको परिमाण मात्र बढाएको छैन, सञ्चित नोक्सानीलाई समेत नाफामा बदलेको छ ।

प्राधिकरणले लेखा परीक्षणअघिकोे वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा १२.३६ प्रतिशतले बढाएर ११ अर्ब पाँच करोड पुर्याएको छ । प्राधिकरणको वित्तीय निर्देशनालयका प्रमुख लेखनाथ कोइरालाका अनुसार विद्युत् चुहावट नियन्त्रण भारतबाट आयातमा कमी तथा सस्तोमा बिजुलीको उपलब्धताले नाफा विस्तार भएको हो ।

बिज्ञापन

कोभिड–१९ को महामारीबीच पनि प्राधिकरणले आफ्नो वित्तीय स्वास्थ्यलाई चुस्त राख्न सफल भएको छ, उहाँले भन्नुभयो, “यो अपरिष्कृत विवरण हो । अन्तिम लेखा परीक्षणमा बढी आउन पनि सक्छ । ”

आर्थिक वर्ष २०७५/७६को अपरिष्कृत विवरणमा प्राधिकरणले सात अर्ब नाफा गरेको देखिएको थियो तर अन्तिम लेखा परीक्षणले प्राधिकरणको खुद नाफा नौ अर्ब ८४ करोड पुगेको देखाएको थियो । यो वर्ष प्राधिकरण सञ्चित नोक्सानीबाट पनि मुक्त बनेको छ । गत वर्ष १२ अर्ब २३ करोड थियो तर यो वर्ष सञ्चित नोक्सानी शून्यमा झार्दै चार अर्ब ८६ करोड सञ्चित नाफा गरेको छ ।

विगतका वर्षहरूमा विद्युत् चुहावट उच्च हुँदा त्यसको असर प्राधिकरणको वित्तीय स्वास्थ्यसमेत पर्ने गरेको थियो । प्राधिकरणले आफ्नो प्रसारण तथा वितरणजस्ता प्रणालीगत चुहावटलाई १५.३२ बाट १५.२७ मा झारेको छ ।

उता भारतबाट विद्युत् आयातका लागि गर्नुपर्ने खर्च पनि घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा ३९.५५ प्रतिशतले विद्युत् आयात घटेको छ । प्राधिकरण मातहतकै ६० मेगावाटको माथिल्लो त्रिशूली, १४ मेगावाटको कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुरु भएकाले विद्युत् खरिदको रकम पनि बचेको देखिन्छ । नेपालकै निजी क्षेत्रले १३५ मेगावाट विद्युत् उत्पादन थप गरेकाले पनि सस्तोमा स्वदेशी बिजुली पाउने अवस्था आएको हो ।

प्राधिकरणको समग्र खर्च घटनुको योगदान पनि नाफा रहेको कोइराला बताउनुहुन्छ । विद्युत् उत्पादन, खरिद, वितरण तथा रोयल्टीबापत अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब २१ करोड खर्चिएको प्राधिकरणले गत आवमा भने ५० अर्ब दुई करोड मात्र खर्चिएको देखिन्छ ।

भारतबाट विद्युत् आयात घटेको मात्र नभई यस वर्ष निर्यात पनि लक्ष्यभन्दा बढी भएको छ । ९० गिगावाट आवर निर्यातको लक्ष्य नाघेर १०७ गिगावाट आवर बिजुली भारतमा बेचिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।