गौरादहका ५ सहित झापामा ९  जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापाका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा गौरादह नगरपालिकाका ५ र भद्रपुर नगरपालिकाका ३ जनामा र कमल गाउँपालिकामा १ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौरादहका संक्रमण पुष्टि हुनेमा सशस्त्र प्रहरी बल इलाममा कार्यरत भइ घर विदामा आउने दुइ जना र साउदी अरबबाट आएका ३ पुरुष छन् ।जसमा वडा नम्बर ७ र ९ का दुई–दुई जना पुरुष तथा वडा नम्बर ५ का एक पुरुष छन् ।

उनीहरु गौरादहका क्वारेन्टाइनमा बस्दै आएका थिए । गौरादहकबाट एक सय १५ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा ५ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको गौरादहका स्वास्थ्य शाखाका संयोजक पर्शुराम भट्टराईले जानकारी दिनुभयो । त्यस्तै भद्रपुर नगरपालिकाका संक्रमित हुनेहरुमा दुबईबाट आएका २५ वर्षीया महिला र ४० बर्षीय पुरुष हुन भने अर्का नेपाल आर्मीको चारआलीमा कार्यरत ३३ वर्षीय प्युठ छन् ।

बिज्ञापन

भद्रपुरबाट गत २० गते ३४ जनाको स्वाब संकलन गरी पठाइएको थियो । संक्रमण पुष्टि भएकालाई कहिपनि खाली नभएकाले कहाँ राख्ने भन्ने निर्णय भइनसकेको भद्रपुरका स्वास्थ्य शाखा प्रमुख मनोज भट्टराईले जानकारी दिनुभयो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।