सञ्चालन नहुँदै रेलको वारेन्टी सकियो

काठमाडौँ : सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन। नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । एक वर्षको वारेन्टी भएको रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको थियो । नेपाल रेल्वे कम्पनीद्वारा खरिद गरेर दुई सेट रेल २ असोज २०७७ असोजमा नेपाल ल्याइएको थियो ।

जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई सो रेल सेट हस्तान्तरण गरिए पनि अहिलेसम्म सञ्चालन आउन सकेको छैन । खरिद गरेको एक वर्ष पूरा भएपछि सो रेलको इन्जिन र बोगीको वारेन्टी ३ असोजमा नै सकिएको छ । रेललाई खुला आकाशमा पालले ढाकेर सशस्त्र प्रहरीको पहरा दिएर राखिएको छ । लामो समयसम्म राखिँदा रेललाई ढाकिएको पालसमेत च्यातिन थालेका छन्। अघिल्लै सरकारको पालादेखि सरकारी पक्षबाट रेल सञ्चालनको लागि पटकपटक समय तोके पनि सञ्चालनको मिति जुर्न सकेको छैन ।

बिज्ञापन

रेल सञ्चालनका लागि कानुनदेखि जनशक्तिलगायतका समस्या रहँदै आएको छ । यसअघि सरकारले रेल सञ्चालनका लागि अध्यादेश जारी गरे पनि अहिले रेल सञ्चालनको विषय कानुनविहीन अवस्था रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।