
शनिबार देशभर ३७८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । यीमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ । उनीहरूको देशका विभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसन सेन्टर र अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न आइसोलेसन तथा अस्पतालमा उपचार गराइर ४९९ जना डिस्चार्ज भएका छन् । यसरी, अहिलेसम्म १६ हजार ३१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ७ हजार ७८८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । १० हजार ७९२ जना देशभरका विभिन्न स्थानमा हरेका क्वारेन्टाइमा रहेका छन् ।
थप ३ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ७३ पुग्यो
पछिल्लो २४ घण्टाको अवधिमा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडौं, मोरङ र पर्साका १/१ जनाको मृत्यु भएको बताए ।
उनका अनुसार काठमाडौंको टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको पाटन अस्पतालमा २३ साउनमा मृत्यु भएको छ ।
पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह पीडित ती पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै पर्सामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
मोरङको विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या देखिएका ती पुरुषको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा मृतकको संख्या ७३ पुगेको छ ।